१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२० लाख योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने जिफन्टको योजना


130
Shares

काठमाडौं । नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चार वर्षमा २० लाख योगदानकर्ता सूचीकृत गर्ने घोषणा गर्नुभएको छ ।

मंगलबार महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलन गर्दै महासंघको अधिवेशनले वैदेशिक रोजगारी लगायत सबै प्रकृतिका श्रमिकहरूलाई समेटेर आगामी चार वर्षमा कम्तिमा २० लाख श्रमिकलाई योगदानकर्ताको रूपमा सूचीकृत गर्न अभियान चलाउने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा रोजगारमा रहेका मात्रै नभएर स्वरोजगारमा रहेकाहरूलाई पनि जोड्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा अहिले महिनाको पाँच हजारका दरले श्रमिकहरू सूचीकृत भइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रष्ठले महासंघले अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नको लागि ७५३ स्थानीय तहलाई केन्द्रिविन्दुमा राखेर काम गर्ने बताउनुभयो । उहाँले सबै स्थानीय तहमा श्रमिक डेक्स स्थापना गरी एउटा पालिकामा ३ जना श्रमिक नेताहरूलाई पठाएर कामको व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालमा धेरै ट्रेड युनियन भएको भन्दै अब ट्रेड युनियनबीच सौहाद्रपूर्ण एकता अभियान चलाइने बताउनुभयो । उहाँले एकता अभियान अन्तर्गत भविष्यमा मिल्नसक्ने युनियनहरुसँग समझदारीका साथ सहकार्य शुरु गरिने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले मजदुरहरूको हक हितमा बोल्ने एउटै मात्रै बलियो ट्रेड युनियन बनाउन ट्रेड युनियन महासंघले अघुवाइ गर्ने बताउनुभयो । उहाँले महासंघले चार वर्षमा मजदुर आन्दोलन र श्रम बजारलाई थप व्यवस्थित गर्ने योजना बनाएकोसमेत बताउनुभयो ।