
काठमाडौं । युरोपेली संघ(ईयु)मा आवद्ध देशहरूले रुसले ग्यास आपूर्ति रोकेमा आफ्ना देशहरूले ग्यासको प्रयोग घटाउने निर्णय गरेका छन् ।
ईयु सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरूको मंगलबारको बैठकमा सदस्य मुलुकहरू स्वेच्छिक रूपमा अगस्टदेखि मार्चसम्म १५ प्रतिशत ग्यासको प्रयोग घटाउन सहमत भएका हुन् ।
ऊर्जा आपूर्तिको मौज्दात बढाउने प्रयासस्वरूप सदस्य राष्ट्रहरू प्राकृतिक ग्यासको मागलाई १५ प्रतिशतले स्वेच्छिक रूपमा घटाउने राजनीतिक सहमतिमा पुगेको ईयुले जनाएको छ ।
रुसले लगातार ऊर्जा आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरिरहेको बताउँदै ईयुले आपूर्ति सुरक्षा संकटको स्तरमा पुगेमा ग्यासको माग घटाउन अनिवार्य हुने निष्कर्ष निकालेको छ ।
यद्यपि, ग्यास पाइप लाइनहरूमा जडान नभएका देशलाई ग्यास कटौती भएमा भने मान्य नहुने चेतावनी दिइएको छ ।
रुसले आफनो ग्यास कम्पनी ग्याजप्रोमको मर्मत सम्भारका लागि भन्दै केही समय युरोपेली संघ ईयुमा आवद्ध राष्ट्रहरूमा ग्यास आपूर्ति कटौती गर्ने घोषणा गरेपछि ईयुले यस्तो निर्णय गरेको हो ।
ग्याजप्रोमले बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, नेदरल्यान्ड्स र पोल्याण्डलाई क्रेमलिनको आदेशको पालना गर्न अस्वीकार गरेकोमा ग्यास आपूर्ति पूर्ण रूपमा कटौती गरेको छ ।
रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली नेताहरूले रूसको इन्धनमा निर्भरता कसरी कम गर्ने भनेर यसको विकल्पको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्