१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र विकास बोर्ड अध्यक्ष बनेका बुबालाई अनमोलको बधाई


1.898k
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि भुवन के.सी.लाई फिल्मकर्मीदेखि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् । यसैबीच उनका छोरा अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबासँगको बाल्यकालको तस्विर सार्वजनिक गर्दै बधाई तथा शुभकामना दिएका छन् ।

आफ्नो आगामी फिल्म ‘छड्के २’ को लागि केही दिनदेखि चितवनमा रहेका अनमोलले बुबालाई चलचित्र विकास बोर्डको अध्यक्ष बनेकोमा सुन्दर शब्दले बधाई तथा कार्यकालको शुभकामना दिएका हुन् । उनले सामाजिक सञ्जालमा बुबासँगको बाल्यकालको तस्विर पोस्ट गर्दै नेपाली फिल्मको श्रीवृद्धिमा थप योगदान रहनेमा विश्वास व्यक्त गरेका छन् । 

अनमोलले लेखेका छन्, ‘बाटो हिड्ने मान्छे भन्दा पनि बाटो बनाई दिने मान्छे महान हुन्छन् । म तपाईं लगाएत तपाईंका समकालीन हस्तीहरूकै पाईलाहरू पछ्याउँदै यहाँ सम्म आई पुगेको छु । आज बाट, तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्री वृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु, यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा, धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’

भुवनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । बुधबार बिहान बोर्डको कार्यालय पुगेर भुवनले पदभार ग्रहण गरेका छन् ।