
राजु चौधरी (इमेज)
चितवन, साउन ३१ । पदभारग्रहण गरेको एक वर्षपछि भरतपुर महानगरपालिकामा विवाद चुलिएको छ ।
भरतपुर महानगरपालिकाले बिहीबार गरेको वार्षिक समीक्षा गोष्ठी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिस्कार गरेपछि विवाद छताछुल्ल भएको हो ।
महानगरले भरतपुरस्थित होटेल स्टार व्याङ्क्वेटमा समीक्षा गोष्ठी राखेको थियो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु भने पार्टी कार्यालय कमलनगरमा छलफलमा व्यस्त थिए ।
दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको समीक्षा गोष्ठी साढे १ बजेबाट सुरु गरिएको थियो ।
स्वागत मन्तव्य व्यक्त गर्दै भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु कार्यक्रमस्थलमा ढिला भएपनि आइपुग्ने आशा व्यक्त गरे ।
तर, उपमेयर पार्वती शाह ठकुरीसहितका वडाध्यक्षहरु गोष्ठीमा उपस्थित भएनन् ।
गोष्ठीमा महानगरले गरेका कार्य र भावी योजनाका विषयमा चर्चा भइरहँदा कांग्रेस पार्टी कार्यालयमा भने महानगरमा अब कसरी प्रस्तुत् हुने भन्नेबारे छलफल चलिरहेको थियो ।
महानगरको गोष्ठीमा कांग्रेसबाट प्रदेश नम्बर–३ का सांसद बनेका मिलनबाबु श्रेष्ठ भने उपस्थित भए । तर, उनी पनि धेरैबेर कार्यक्रममा बसेनन् ।
आसनग्रहणको कार्यक्रम सकिएलगत्तै समय मागेर प्रदेश सांसद श्रेष्ठले आफ्नो मन्तव्य राखे । उनले सोक्रममा महानगरपालिकाभित्र समन्वयको अभाव खड्किएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति नदेखेपछि त्यही समन्वय अभावका कारण यो समस्या आएको बताए ।
उनले महानगरको विकास निर्माणलगायतका हरेक कार्यमा समन्वय हुनु जरुरी रहेको बताए । एकलौटी ढंगले अघि बढे विभिन्न समस्या सिर्जना हुने उनले उल्लेख गरे ।
मन्तव्य व्यक्त गरेलगत्तै सांसद श्रेष्ठ कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
पेलेर जान खोजियो : उपमेयर शाह
भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरभित्र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पेलेर जान खोजिएको आरोप लगाएकी छन् ।
उनले आफूहरुलाई महानगरमा केही समययता स–साना कुरादेखि हरेक निर्णयहरुमा पेलेर जान खोजेपछि समस्या उत्पन्न भएको जिकिर गरिन् ।
उपमेयर शाहले आफूलगायत जनप्रतिनिधिहरु पार्टी कार्यलयमा छलफल गरिरहेका बेला कार्यक्रम सुरु गरिएकाले महानगरको गोष्ठीमा उपस्थित हुन नसकेको दाबी गरिन् ।
‘हामी आन्तरिक छलफलमा थियौं । उता, कार्यक्रम सुरु गरिसकेछ । हामी कार्यक्रममा उपस्थित नभएपछि बहिस्कार गरेजस्तै भयो’–उनले भनिन् ।
उपमेयर शाहले अब महानगरमा नयाँ ढंगले प्रस्तुत हुने पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस्