
काठमाडौं । ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरू खुशी भएका छन् ।
पुलको सबै काम सम्पन्न भइसकेको र यही साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल २ सय मिटर लामो छ । पुलमा ५ वटा स्पान रहेका छन् भने पुलको चौडाई ११ मिटरको छ ।
२ वटा ठूला सवारी साधन सहजरूपमा पार गर्न सक्नेछन् । निरीक्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल २०७३ को असार अन्तिममा सुरू भएको र २०७६ सम्म नै सकिसक्नुपर्ने भएपनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको बताउनु भयो ।
उहाँले पुल सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले पुल निर्माण गर्न कुल २४ करोड रुपैयाँ लागेको बताउनु भयो । उहाँले यसले सिन्धुली, रामेछाप र ओखलढुङ्गा जिल्लालाई जोड्ने र यो स्थानको मुहार फेरेको बताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङलगायतका जिल्लामा पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा नभएकोले पूर्वाधार विकासमा पहिलो जोड दिएको बताउनु भयो ।
उहाँले यो पुल निर्माणपछि काठमाडौंसँग जोडिन ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङका नागरिकलाई सहज र छिटो हुने बताउनु भयो । उहाँले पक्की पुल निर्माणसँगै नजिकका जिल्लामा पर्यटकीय स्थलको सम्भावना बढ्ने बताउनु भयो ।
पुल बनेपछि स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरू खुशी भएका छन् । पुल निर्माण नहुँदा डुङ्गाबाट नै आवतजावत हुने गरेको, जसले विभिन्न दुर्घटनाहरू निम्तिने गरेकोले अब यी समस्याबाट छुटकरा मिल्ने स्थानीयको भनाइ छ । साथै सामान ओसारपसारका लागि पनि सहज हुने बताए ।
उनीहरूले किसानको लागि पनि पुलले धेरै सहयोग पुग्ने विश्वास लिएको बताए । किसानले उत्पादन गरेका खाद्यसामग्रीको बजारीकरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्