१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूतपूर्व गोर्खा सैनिकको मागबारे संसदीय समितिले परराष्ट्रमन्त्रीसँग छलफल गर्ने


91
Shares

काठमाडौं । संसदीय समितिले ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधाको समेत मारमा परेका सिंगापुरमा कार्यरत ब्रिटिस गोर्खा सैनिकहरूको मागबारे सम्बोधन गर्नका लागि परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरूले सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको माग सम्बोधन गर्नका लागि समितिको बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका समितिका सदस्य ईश्वर पोखरेलले समितिका सदस्यहरूले मनको बह पोख्ने भन्दा पनि परराष्ट्रमन्त्रीलाई बोलाएर सो समस्याको समाधानका लागि ठोस पहल गर्न उपयुक्त हुने धारणा राख्नुभएको थियो ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता समेत रहनुभएका समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले संसदीय समिति र संसदले दिएको निर्देशन समेत सरकारले पालना नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक दलहरूले परराष्ट्र नीतिका सम्बन्धमा साझा धारणा बनाएर यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई दवाव दिन ढिलाई गर्न नहुने पनि पटक–पटक दोहोर्‍याउनुभयो ।

बैठकमा कार्कीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सरकारले अमेरिकालाई पत्राचार नगरेको गुनासो समेत गर्नुभएको थियो ।