
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ ।
शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो । सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरु आएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयो ।
अध्यक्ष दाहाललेसमाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गर्नुभयो । केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताउनुभयो ।
अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताउनुभयो । उहाँले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताउनुभयो ।
अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताउनुभयो । संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले तत्कालिन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदन आएको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गर्नुभयो । उहाँले माओवादी समर्थित पत्रकारहरूको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गर्नुभयो ।
देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्