
काठमाडौं । प्रदेश १ को नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन । भौगोलिक आधारमा कि जातीय आधारमा प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा दलहरूबीचको विवादका कारण नामाकरण हुन नसकेको हो ।
प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत प्रदेश १ मा मुख्य दलहरूले प्रदेशको नामाकरणमा सहमति जुटाउन सकेका छैनन् । उनीहरुले प्रदेशको नामाकरण चालु अधिवेशनबाटै राख्ने बताउँदै आए पनि प्रदेश सभाको अधिवेशन टुंगिने अवस्थामा पुगिसके पनि नामाकरणको विषयमा सहमति हुन सकेको छैन ।
यस बीचमा बजेट पारित भइसकेपछि प्रदेशसभाको बैठक स्थगित गरेर केही दिन दलहरू प्रदेशको नामाकरणका लागि छलफलमा जुटे पनि सहमति हुन सकेको छैन ।
एकल जातीय र भौगोलिक नामाकरणको अडानबाट पछि हट्दै दलहरू यति बेला भौगोलिक कि बहुपहिचान भन्ने विवादमा छन् ।
प्रदेशको नामाकरणको विषयमा दलहरूबीच सहमति जुटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने मुख्य मन्त्री राजेन्द्र राई भने खराब नाम हुनुभन्दा नामाकरण नै नगर्नु उचित भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिंदै आउनुभएको छ । मुख्यमन्त्रीकै अडानका कारण सत्तारुढ गठबन्धनका दलहरूबीच प्रदेशको नामका विषयमा सहमति हुन नसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्