
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लागि एसियन फुटबल महासंघ (एएफसी)ले छनोटको रोडम्याप सार्वजनिक गरेको छ ।
एएफसीको कार्यकारी समितिले आफ्ना सदस्य राष्ट्रसँग छलफल गरेर चार चरण समावेश भएको एसियन क्षेत्रको क्वालिफिकेसन फरम्याट स्वीकृति गरेको हो । सन् २०२६ को विश्वकपमा सहभागी हुने ४८ टिम मध्ये एसियाका ८ टिम सिधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।
एएफसीले सार्वजनिक गरेको फर्म्याट अनुसार २०२६ को विश्वकपको लागि एसियामा चार चरणको छनोट हुनेछ । जसमा नेपालले पहिलो चरणदेखि नै खेल्नुपर्नेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्ने छन् ।
एसियामा नेपालको वरीयता ३० भन्दा पछि छ । त्यसैले पनि नेपालले पहिलो चरण खेल्नुपर्ने हुन्छ । यसमा एक टिमले अर्को एक टिमसँग होम एण्ड अवेका आधारमा खेल्नेछ । यस चरणमा ११ विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछ ।
जहाँ १ देखि २५ वरीयतासम्म रहेका र पहिलो चरणको विजेता ११ गरी ३६ टिमले प्रतिस्पर्धा गर्नेछन् । ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ र हरेक समूहमा चार–चार टिम हुनेछन् । हरेक समूहको खेल होम एण्ड अवेका आधारमा खेलाइनेछ ।
जसबाट समूह विजेता र समूह उपविजेता गरी कूल १८ टिम सन् २०२७ मा हुने एसिया कपमा सिधै छनोट हुनेछ भने विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ । तेस्रो चरणमा १८ टिमलाई ६ टिम सम्मिलित तीन समूहमा विभाजन गरिनेछ ।
हरेक टिमको समूह विजेता र समूह उपविजेता गरी ६ टिम सिधै विश्वकपमा छनोट हुनेछ । यस्तै एसियन प्लेअफमा तेस्रो चरणमा तेस्रो र चौथो भएको गरी कूल ६ टिमलाई दुई समूहमा विधाजन गरेर खेलाइनेछ । जसमध्ये समूह विजेता बन्ने दुई टिम विश्वकपमा छनोट हुनेछ ।
यस्तै दोस्रो स्थानमा रहने टिमबीच अन्तरमहादेशीय प्लेअफमा जानका लागि खेल हुनेछ । यसैगरी एसिया कप २०१७ को बाँकी स्थानका लागि पहिलो चरणको छनोटमा पराजित भएका टिमहरुलाई पनि पेरि मौका दिइनेछ । जसलाई एसिया कप क्वालिफायर प्लेअफ भनिनेछ ।
पहिलो चरणमा पराजित १० टिमलाई होम एण्ड अवेका आधारमा खेल्ने गरी ड्र गरिनेछ । यसबाट विजेता बन्ने ५ टिम एसिया कपको अन्तिम चरणको छनोटका लागि छानिनेछ ।
अन्तिम चरणको छनोटमा पहिलो चरण छनोटमा पराजित मध्येको उत्कृष्ट १ टिम, दोस्रो चरणको छनोटमा ९ समुहको तेस्रो र चौथो भएको कुल १८ टिम र एसियन कप क्वालिफायर्स प्लेअफबाट आएका ५ गरी २४ टिमले खेल्नेछन् ।
२४ टिमलाई ६ समूहमा विभाजन गरिनेछ र हरेक समूहको विजेता मात्र एसिया कप २०२७ मा छनोट हुनेछ । दोस्रो चरणमा छनोट भएका १८ र अन्तिम चरणको ६ गरी कूल २४ टिमबीच एसिया कप हुनेछ ।
प्रतिक्रिया दिनुहोस्