
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार नक्सालको होटेलबाट रङ्गेहात पक्राउ गरेको हो ।
पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियारको टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेकोमा अपरान्ह होटल अरण्यबाट घुससहित पक्राउ गरेको हो ।
होटलबाट ६ लाख रुपैंया घुस लिंदै गर्दा पक्राउ परेका उपसचिव नेपालको गाडीबाट साढे १६ लाख बरामद गरिएको थियो ।
‘प्याराग्लाइडिङको उडान’ अनुमतिका लागि घुस मागेको र त्यो रकम लिएको सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनु भएको छ ।
गाडीबाट बरामद भएको रकमको पनि उपसचिव नेपालले स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गर्दा अर्थशास्त्र संकायका गोल्डमेडलिस्ट उनी छात्रवृत्तिमा बेलायत पढ्न गएका थिए । बेलायतबाट फर्केको ६ महिनामै उनी घुसकाण्डमा पक्राउ परेका हुन ।
प्रतिक्रिया दिनुहोस्