
सुनसरी । अविरल वर्षाका कारण कोसी नदीको बहाब बस्तीमा प्रवेश गरेपछि सयौं घर परिवारको बिचल्ली भएको छ ।
अविरल वर्षातसँगै नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घर परिवारको बिचल्ली भएको हो ।
सप्तकोसीको चतरा पुल मुनिको डुर्मिबोटेबाट कोसी फुटेर उदयपुरको बेलका नगरपालिका प्रवेश गरेको छ ।
सप्तकोसीमा बाढी आएको समयमा भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण डुर्मिबोटेबाट श्रीलंका टापुको खेतियोग्य जमीन र मानव बस्तीमा पनि बाढि प्रवेश गरेको छ ।
कोसी पश्चिमतर्फ फर्किएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आतंकित भएका छन् ।
भारतले कोसी ब्यारेजका ढोका नखोलेकै कारण कोसी ३९ वर्ष पश्चात पश्चिमतर्फ फर्किएको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलंका टापुका बद्री राईले जानकारी गराउनुभयो । कोसीलाई तत्काल नियन्त्रण गर्न नसक्ने हो भने ठुलो जनधनको क्षति गर्ने उहाँको भनाई छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोसीको बाँध फुटेर पश्चिम तर्फ प्रवेश गर्दा सयौं घरपरिवारका जनताको बिचल्ली भएको बताउनुभयो । उहाँले बाढि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान तर्फ सार्ने काम भैरहेको जानकारी दिनुभयो ।
स्थानीय प्रशासनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेपनि बाढि नियन्त्रणमा समस्या भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देश यादवले बताउनुभयो ।
कोसीको बाढी डुर्मिबोटे हुदै सिसौलीघाट, धौरी टापु, चिलिमे, श्रीलंका टापु तर्फ प्रवेश गरेपछि यहाँका सयौं घर बाढिको उच्च जोखिममा परेका छन् ।
तत्काल कोसी ब्यारेजका सबै ढोका नखोलिए श्रीलंका टापुका बासिन्दाको ज्यान जोखिममा पर्ने भन्दै स्थानीयले ब्यारेजका सबै ढोका खोल्न र बाँध फुटेको कोसी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्