
एजेन्सी । अमेरिकी सिनेटकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको अहिले विश्वव्यापी चर्चा छ ।
चीनको बिरोधको बाबजुद पेलोसी मंगलबार ताइवान पुगेपछि चीन अमेरिकासँग आक्रोशित भएको छ । उसले पेलोसीको भ्रमणलाई खतरनाकको संज्ञा दिएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरेको छ । आफ्नो अभिन्न भूभागमा अमेरिकी सभामुख पेलोसीले भ्रमण गरेको भन्दै चीन आक्रोशित भएको हो । पेलोसीले ताइवानकी राष्ट्रपति साई इंग–वेनसँग बुधबार भेटवार्ता गरेकी छिन भने पेलोसीलाई ताइवानको उच्च नागरिक सम्मान प्रदान गरिएको छ । चीनले पेलोसीको भ्रमणलाई एक चीन नीतिको सिद्धान्त विपरित भएको भनेको छ । चीनले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि अमेरिकालाई चेतावनी दिएको छ । पेसोलीको भ्रमणको मौका छोपेर चिनियाँ सेनाले ताइवानमाथि दवाब बढाउन ताइवानको सीमा क्षेत्रमा हवाई र समुन्द्री युद्ध अभ्यास गरिरहेका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उता अमेरिकाले पनि पेलोसीको ताइवान भ्रमण हुने भएपछि ताइवानको सीमा क्षेत्रमा युद्ध पोत तैनाथ गरेको छ ।
चीनले बारम्बार धम्की दिँदा पनि पेलोसी ताइवान पुगेकी हुन् । यति मात्र नभएर उनले ताइवानबाट चीनलाई प्रष्ट पार्दै अमेरिका ताइवानमा लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहेको बताएकी छन् । उनले भनेकी छन् ‘संसारमा लोकतन्त्र र निरंकुशताबीच संघर्ष चलिरहेको छ । अमेरिका ताइवानलाई गरेका वाचाहरूबाट पछि हट्ने छैन ।’
न्यान्सीको यस्तो भनाइ चीनको लागि आलो घाउमा नुन छर्केको जस्तो भएको बिश्लेषकहरुको टिप्पणी छ । न्यान्सीले पहिलो पटक भने यस्तो गरेकी होइनन् उनी १९९१ र २००८ मा पनि चीनका लागि ठूलो चुनौती बनेकी थिइन् ।
को हुन् न्यान्सी ?
न्यान्सी पेलोसी अमेरिकी सिनेटकी सभामुख हुन् । राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकामा सभामुख तेस्रो उच्च पद हो। न्यान्सीको यो चौथो कार्यकाल हो र यसपटक उनी सन २०१९ देखि यो पदमा रहेकी छिन् । ८१ वर्षीया पेलोसी राजनीतिक परिवारकी हुन् । उनका बुबा अमेरिकाको बाल्टीमोरका मेयर थिए । उनले अमेरिकी कंग्रेसमा ५ पटक नगरको नेतृत्व समेत गरेका थिए । पेलोसीका भाइ पनि बाल्टमिोरको मेयर भइसकेका छन्। न्यान्सी पहिलो पटक सन् १९८७ मा सांसद बनेकी थिइन् । उनी तत्कालीन राष्ट्रपति जर्ज बुशको शासनकालमा सन् २००७ मा हाउस स्पीकर चुनिएकी थिइन् । पेलोसी २५ वर्ष यता ताइवान भ्रमण गर्ने उच्च अमेरिकी निर्वाचित अधिकारी हुन् । यसअघि सन् १९९७ मा तत्कालीन सभामुख न्यूट जिनरिचले ताइवानको भ्रमण गरेका थिए ।
पेलोसी र चीनको दुस्मनी करीब तिन दशक पुरानो भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । उनले लामो समयदेखि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको विरोध गर्दै आएकी छिन् ।उनी १९९१ मा चीनको राजधानी बेइजिङको भ्रमणमा गएकी थिईन । यसै क्रममा उनी आफ्ना साथी नेता र पत्रकारहरूसँग तियानमेन स्क्वायर पुगिन । त्यहाँ उनले ब्यानर फहराएकी थिइन् ।जसमा ‘चीनमा प्रजातन्त्रको माग गरेर दुई वर्षअघि तियानमेन स्क्वायरमा नरसंहारमा परेका पीडितहरुको समर्थन गरिएको थियो । सन् १९८९ मा केही विद्यार्थीहरूले प्रजातन्त्रको माग गर्दै तियानमेन स्क्वायरमा प्रदर्शन गरेका थिए । सो क्रममा चिनियाँ सेनाले उनीहरुमाथि गोली चलाएको थियो र बुलडोजर समेत चलाएको थियो । यसमा सयौंको ज्यान गएको थियो ।
सन् २००८ मा पेलोसी भारत भ्रमणमा आएकी थिइन । यसै क्रममा उनले धर्मशालामा तिब्बती धर्मगुरू दलाई लामासँग भेट गरेकी थिइन् । । चीनले दलाई लामालाई आफ्नो शत्रु मान्दै आएको छ । चीनले त्यो भेटलाई कडा विरोध गरेको थियो। यसका बाबजुद पनि पेलोसीले ९ सांसदसहित दलाई लामालाई भेटेकी थिइन् ।
त्यसपछि सन् २०१७ मा पेलोसिी फेरि भारत भ्रमणमा आएकी थिइन । उक्त समयमा पनि उनले धर्मगुरू लामासँग भेटेकी थिइन् । यस क्रममा पनि उनले तिब्बती जनता, उनीहरूको आस्था, संस्कृति र भाषाप्रति अमेरिका प्रतिबद्ध रहेको बताएकी थिइन् । ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता नदिएर चीनको अभिन्न अंग मान्नु पर्ने भनेर चीनले विश्वभर कुटनीतिक दवाब बढाइरहँदा पेलोसीको भ्रमणले चीन झस्किएको हो । चीनले अन्य देशले ताइवानलाई मान्यता नदिउन भन्ने चाहेको छ । पेलोसीले चीनप्रति प्रायजसो आलोचनात्मक धारणा राख्ने गर्छिन् ।
प्रतिक्रिया दिनुहोस्