
सन्दीप श्रेष्ठ
काठमाडौं । साउन महिना लागेपछि माछामासु खान छोड्ने मात्र हैन, कपाल काट्नेको संख्या अप्रत्याशित घट्दा त्यसको प्रत्यक्ष असर सैलुनहरूमा परेको छ ।
परम्परालाई कारण देखाएर ५० प्रतिशत उपभोक्ता घटेपछि सैलुन व्यवसायीहरू घरभाडा तिर्न र श्रमिकलाई पारिश्रमिक दिन धौ–धौ परेको गुनासो गर्छन् ।
बालक, वृद्ध मात्र नभई किशोर उमेरका समेत साउनमा कपाल काट्न हिच्किचाने उनीहरू बताउँछन् । यो महिनालाई उनीहरू व्यवसायको बेमौसम मान्छन् ।
शास्त्रीय मान्यताअनुसार साउन महिनाभरि भगवान विष्णु शयन गर्ने भएकाले यो समय शुभकर्म गर्न नहुने मान्यता छ ।
यसैगरी असार–साउन मानिस खेती किसानीमा व्यस्त हुने भएकाले घरमा स्वजनको विछोड हुँदा समेत शव छोपेर काममा जानुपर्ने किसानको व्यस्ततालाई जोडेर श्रृंगारको काम गर्न नहुने आहान चलेको विश्लेषण अर्काथरिको छ ।
कारण जेसुकै भए पनि नेपालमा ठूलो धनराशीको कारोबार हुने सैलुन व्यवसायमा धक्का लागेको छ । नेपाल नाइ संघका महासचिव श्यामकुमार ठाकुर साउन महिनाकै कारण ५० प्रतिशत व्यवसाय प्रभावित भएको बताउनुहुन्छ ।
अरु महिना एउटा सैलुनमा दैनिक ४० देखि ५० जनाले कपाल काट्ने गरेकोमा अहिले त्यो संख्या ठ्याक्कै आधामा झरेको ठाकुरको भनाइ छ ।
राजश्व तिरेर व्यवसाय सञ्चालन गरिरहँदा पनि सम्मान पाउन नसकेको व्यवसायीहरू दुःखेसो गर्छन् । आफू र आफ्नो पेसामाथि हेपेर बोल्ने गरेको उनीहरूलाई कति पनि चित्त बुझेको छैन ।
कोभिडको संक्रमणपछि धेरैले मेसिन किनेर घरमा कपाल काट्दा आम्दानी घट्दै गएको उनीहरूको अनुभव छ । अरु पेसाका मानिसजस्तै सम्मान र इज्जत दिन नाइहरूले जोडदार माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्