१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियन्त्रण भएन सप्तकोसी कटान, जबरजस्ती घर फर्कन थाले विस्थापित


130
Shares

सुनसरी । सप्तकोसी नदीले डुम्रीबोटेबाट पश्चिमतर्फ कटान गरेको भए पनि कटान नियन्त्रण हुन सकेको छैन ।

बुधबार बिहानबाट कटान सुरू गरेको भएपनी २४ घण्टा बितिसक्दा समेत कोसीको कटान नियन्त्रण गर्न सकिएको छैन । सप्तकोसीमा पानीको सतह केही कम भएको छ ।

कोसीकाे कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार सर्वसाधारण विस्थापित भएका छन् ।

सुरक्षाकर्मीको सहयोगमा विस्थापितलाई सुरक्षित स्थानमा सारिएका कारण कुनै अप्रिय घटना भने भएन । तर, सर्वसाधारणको ठूलो धन सम्पत्ति र खेतीपातीमा भने नोक्सानी पुगेको छ ।

बिहीबार पानीको सतह घुँडामुनिसम्म झरेपछि विस्थापितहरू घर फर्कन थालेको बेकका नगरपलिकाका मेयर अशोक कार्कीले बताउनुभयाे ।

‘हामीले सुरक्षाको कारणले तत्काल घर नफर्कन अनुरोध गरिरहेका छाैं, तर पीडितहरू आफ्नो सम्पत्ति जोगाउन घर फर्किरहेका छन्,’ उहाँले भन्नुभयो ।

कार्कीले पानी कम भएपछि सबै विस्थापितहरूलाई उचित व्यवस्थापनका साथ घर फर्काउने पहल भइरहेको जानकारी दिनुभयाे ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोसी कटान नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयाे । उहाँले डुवान क्षेत्रमा पानीको सतह धेरै कम भएकाले संयमित र सतर्क रहन पीडितहरूलाई आग्रह गर्नुभयाे ।

पीडितहरूले घर फर्कने वातावरण मिलाइदिन र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।