२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘कांग्रेसलाई गुरु थापेर पार्टी कार्यालयमा हसिया हथौडाको झण्डा राख्या छन्, अचम्म लाग्छ’

‘१ घण्टामा काठमाडौंबाट चितवन कसरी पुगिन्छ ? पिठ्यूँमा बोकेर ?’

1.378k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई काँधमा बोक्नेले पार्टी कार्यालयमा कम्युनिष्ट झण्डा राखेको भन्दै सत्ताधारी कम्युनिष्ट पार्टीहरूमाथि व्यङ्ग्य गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले २००७ सालदेखि कांग्रेसले कम्युनिष्टलाई दबावमा राखेको स्मरण गर्दै उहाँले कांग्रेसलाई गुरु थापेर कम्युनिष्ट बन्न नसकिने बताउनुभयो ।

‘कांग्रेसलाई काँधमा बोक्नेले कार्यालयमा हसिया हथौडाको झण्डा राखेका छन्, अचम्म लाग्छ’, उहाँले भन्नुभयो ।

२००७ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको स्मरण गर्दै उहाँले भीमदत्त पन्तजस्ता देशभक्तको हत्या गरिएको समेत दाबी गर्नुभयो ।

दक्षिणी सीमामा रहेको सेना उत्तरी सीमामा लगेर खडा गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले कांग्रेसले पहिल्यैदेखि तानाशाही, अधिनायकवादी र डनवादी क्रियाकलाप गरिरहेको र अहिले पनि त्यसलाई जारी राखेको आरोप लगाउनुभयो ।

कांग्रेसको गुरु थापेर हिँडेकाहरूको बारेमा आफूले खासै टिप्पणी नगर्ने उहाँले बताउनुभयो । बहुदलपछिको २० वर्ष कांग्रेसले सत्ता सम्हाले पनि औंलामा गन्नसक्ने काम गर्न नसकेको उहाँको आरोप छ ।

‘कांग्रेसको पारा यस्तो छ,’ उहाँले भन्नुभयो, ‘उसैलाई गुरु थापेकाहरूको बारेमा के टिप्पणी गर्नु ?’

अध्यक्ष ओलीले अहिलेको सरकार आएपछि देश बर्बादीमा गएको बताउनुभयो । कोभिडको खोप ल्याइसकेको र देशको जनजीवनसमेत सामान्य अवस्थामा चलिरहेको अवस्थामा समेत देशको अर्थतन्त्र किन गम्भीर अवस्थामा पुग्यो भनेर उहाँले प्रश्न गर्नुभयो ।

‘हामीले छोड्दा कोभिडको खोप ल्याइसकेका थियौं, कोभिड हट्न लागिसकेका थियो, जनजीवन र अन्य सबै कुरा सामान्य चल्दाचल्दै पनि आर्थिक अवस्था किन गम्भीर अवस्थामा पुग्यो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘व्यापार घाटा बढेको बढ्यै छ, बाहिरबाट ल्याएर बाहिरै पठाउने काम भइरहेको छ, नेपाल अहिल छली थलो मात्र भयो, निर्यातयोग्य उत्पादन वृद्धि भएको छैन ।’

अध्यक्ष ओलीले काठमाडौं चितवन १ घण्टामा पुर्याउने भनेर सरकारले जनतलाई झुक्याउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले चितवन १ घण्टामा पुर्याउनका लागि केबलकार र सुरुङमार्ग बनाउनुपर्ने भए पनि त्यसमो योजना सरकारसँग नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेस र माओवादीले १ घण्टामा चितवन कसरी पुर्याउँछ ? पिठ्यूँमा बोकेर ? केबलकार र टनेलको योजना नभइ कसरी पुगिन्छ ? जनतालाई झुक्याएर देश चलाइराखिएको छ ।’

ओलीले अहिलेसम्म जनताले गल्ती नगरेको बताउँदै आगामी निर्वाचनमा एमालेले हारेको अवस्थमा जनताको गल्ती हुने बताउनुभयो । अहिले बनेको सरकार जनताले बनाएको नभई जालीकिर्ते गरेर लुटेर बनाइएको उहाँले टिप्पणी छ ।

‘आगामी निर्वाचन एमालेले नजित्ने हो भने देश बर्बाद हुन्छ, राष्ट्रियता खल्बलिन्छ, विकासका काम केही पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘अहिलेको सत्ता गठबध्नको गन्तव्य र उद्देश्य केही पनि छैन र लुट्नका लागि मात्र जन्मिएको हो ।’