
काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले आफ्नो विज्ञप्ति सच्याएको छ ।
शुक्रबारको बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा गल्ती भएपछि गठबन्धनले विज्ञप्ति सच्याएको हो । विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेल हुनुपर्नेमा अध्यक्ष दुर्गा पौडेल लेखिएको थियो ।
पाैडेललाई अध्यक्ष लेखिएकाे विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । कतिपयले चित्रबहादुर केसीले अध्यक्ष पद कहिले हस्तान्तरण गरिएकाे भन्दै प्रश्न साेधेका थिए भने कतिपयले ट्राेल बनाएका थिए ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
विज्ञप्तिमा प्रधानमन्त्री देउवा र जनमोर्चाकी उपाध्यक्ष पौडेलसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्