१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब बढायो

२४ प्रतिशतसम्म तलब वृद्धि हुँदा राज्यलाई करोडौं भार

15.912k
Shares

काठमाडौं । अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब वृद्धि गरेको छ ।

चालू आर्थिक वर्ष २०७९ /०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको थियो । तर चोर बाटोबाट निजामती सेवाका शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरूको तलब २४ प्रतिशत बढाइएको हो ।अघिल्लो महिनासम्म ३७ हजार ९ सय ९० तलब पाएका अधिकृतहरूले साउन महिनाबाट ४७ हजार २ सय ८ रुपैयाँ तलब पाउने भएका छन् ।

जबकी १५ प्रतिशतले मात्रै तलब बढ्दा उनीहरूले ४३ हजार ६ सय ८९ तलब पाउने अवस्था थियो । यस हिसाबले अधिकृतको तलब २४ प्रतिशतले वृद्धि भएको छ । अधिकृतहरूले थप ३५ सय १९ रूपैयाँ तलब पाउने भएका छन् । त्यस्तै उपसचिवको तलब २३.३ प्रतिशतले वृद्धि भएर ५२ हजार २ सय ७९ पुगेको छ । जबकी बजेट भाषणमा भने अनुसार मात्रै तलब वृद्धि भएको भएको उपसचिवले ४८ हजार ७ सय ३७ रूपैयाँ पाउने थिए ।

सहसचिवको तलब पनि ४९ हजार ३ सय ८० बाट बढेर ६१ हजार ५० पुगेको छ । १५ प्रतिशत बढ्दा ५६ हजार ७ सय ७८ तलब पाउने सहसचिवहरूले अब २३.६ प्रतिशत बढी पाउने भएका छन् । त्यसै गरी सचिवको तलब पनि यो वर्ष ११ हजार सय सय ४१ ले वृद्धि भएको छ । ६२ हजार १ सय ४० तलब पाउँदै आएका सचिवहरूले १५ प्रतिशत बढ्दा ७२ हजार ८२ रूपैयाँ पाउने भएपनि अब १८.४ प्रतिशतले वृद्धि हुँदा ७४ हजार २ सय २१ पाउने भएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले बजेटमा घोषणा गरे भन्दा बढी हुने गरी तलब वृद्धिका लागि स्वीकृति दिएको छ । यसले राज्य कोषमाथि थप करोडौँ रूपैयाँ भार थप्नेछ । बजेटमा भनेअनुसार १५ प्रतिशत मात्रै वृद्धि गरेर तलब वृद्धिका लागि अर्थमन्त्रालयले स्वीकृति दिइसकेको अवस्थामा संसदीय समितिमार्फत चलखेल गरेर तलबको नयाँ रोष्टर स्वीकृत गराएको हो ।