१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवौं राष्ट्रिय खेलकुद समयमै हुनेमा दुविधा छैन : सदस्य सचिव घिसिङ


78
Shares

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा दुविधा नरहेको बताएका छन् ।

पोखरामा सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको हुँदा गण्डकी प्रदेशवासीलाई अपनत्व ग्रहण गरेर तयारीमा लाग्न आग्रह गरे ।

नवौं खेलकुद कार्यकारी समितिका संयोजकसमेत रहेका उनले १३औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै उनले विभिन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको बताए ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म राष्ट्रिय चाडको रूपमा रहेको प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुनेछ । ११ टिममध्ये कम्तीमा ४ टिमले भाग लिएमात्र सो खेल प्रतियोगिताको रूपमा गणना हुनेछ । भदौ १५ गतेसम्म ११ वटै टीमले खेलाडीको सूची राखेप पठाइसक्नुपर्नेछ ।

दोस्रो संस्करण सम्पन्न गरेको ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भित्रिएको हो । आप्mनो प्रदेशमा राष्ट्रिय खेलकुद सञ्चालन हुने भएपछि प्रदेशवासी समेत उत्साहित छन् ।

तर, दोस्रो संस्करणमा समेत स्वीमिङ पुल अभावमा काठमाडौंमा सीमित भएको स्वीमिङ यसपालि पनि पोखराले पाउने सम्भावना कमै छ । भौतिक पूर्वाधार अभावमा स्वीमिङ, सुटिङ लगायतका केही खेल काठमाडौंमा हुने सम्भावना बढेको छ ।

प्रतियोगिताको एकल तर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुने १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै राष्ट्रिय रेकर्ड भङ्ग गर्नेले ५० हजार इनाम पाउने छन् ।

प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामै हुनेछ ।