१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयोगद्वारा मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान


182
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिकको कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिन सकिनेछ ।

यस्तै, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएसँगै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

मंसिर ४ गते निर्वाचन हुने गरी नेपाल सरकारबाट घोषणा भएपश्चात् निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगन भएको छ ।