
काठमाडौं । नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठन राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरू तथा केन्द्रीय विभागका सचिवहरू रहनेछन् ।
यस्तै, बैठकले निर्वाचनको घोषणापत्र निर्माणका लागि ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीकै नेतृत्वमा बनेकाे समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
त्यसैगरी, बैठकले विभिन्न विभागहरूमा सचिव मनोनयन गरेको छ ।
बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्ययन विभागमा घनेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ ।
यस्तै, युवा तथा खेलकुद विभागमा मेघराज पौडेल, भूमि व्यवस्था विभागमा आरसी लामिछाने, भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था विभागमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभाग केबी उप्रेती मनोनित भएका छन् ।
त्यसैगरी, विपद् व्यवस्थापन विभागमा सोभित ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीब रोकाया, सामाजिक सुरक्षा विभागमा पुस्कर खात र शहरी विकास विभागमा गजेन्द्र थपलिया मनोनयन भएका छन् ।
बैठकले खानी तथा तह विकास विभागको निर्देशिका, नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रस्तावित आर्थिक वर्ष २०७९÷८० को बजेट पारित गरेको प्रचारविभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।
बैठकले अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि जिल्ला कमिटीभन्दा माथिका कमिटीहरूको सिफारिसका आधारमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने निर्णय गरेको छ ।
यसका साथै बिहीबारको बैठकले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दै मधेश प्रदेशको सहइन्चार्जमा रामदयाल मण्डल, महोत्तरी जिल्लाका सहइन्चार्ज सरोज यादवलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
धनुषाको सहइन्चार्जमा प्रवलनारायण यादव, भूमि व्यवस्था विभागको उपप्रमुखमा भीम कार्की र कास्की जिल्ला इन्चार्जको जिम्मेवारी कृष्ण थापालाई दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका बागलुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनित गरेको छ । उहाँ कांग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो ।
त्यसैगरी बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका बृजेशकुमार गुप्ता, स्याङ्जाका धर्मदत्त देवकोटा र झापाका अमृत सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, ९ गते पोलिटब्यूरो बैठक र भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्