
एजेन्सी । हङकङको जनसंख्यामा अहिलेसम्मकै उच्च गिरावट आएको छ ।
बिहीबार त्यहाँको जनसंख्या तथा तथ्याङ्क विभागले जारी गरेको तथ्याङ्कमा जनसंख्यामा अहिलेसम्मकै उच्च गिरावट आएको हो । शहरको कुल जनसंख्या ७४ लाख १० हजारबाट घटेर ७२ लाख ९० हजार भएको छ । यो १.६ प्रतिशतको गिरावट हो ।
सन् १९६१ देखि त्यहाँको सरकारले जनसंख्याको आँकडा राख्न थालेको थियो । त्यसबेलादेखि अहिलेसम्म यहाँको जनसंख्या यति ठूलो दरमा नघटेको त्यहाँको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि उनीहरूले प्राकृतिक कारणले नै जनसंख्या घटेको दाबी गरेका छन् ।
कोरोनाका कारण जन्मभन्दा बढी मृत्यु भएको र गतवर्ष देशमा भएको सामाजिक उथलपुथल र चीनको राजनीतिक दबावका कारण पनि पलायन हुनेको संख्या बढेर जनसंख्या कम भएको विज्ञ बताउँछन् ।
त्यहाँको अध्यागमन विभागका अनुसार पछिल्लो १ वर्षमा लगभग १ लाख १३ हजार २ सय मानिस हङकङबाट पलायन भएका छन् । एक वर्षअघि यो संख्या ८९ हजार २ सय थियो । तथ्याङ्कमा प्रवासी र गैर स्थायी बासी रहेको थिए ।
गतवर्ष कोभिड–१९ महामारीका कारण हङकङमा एकदमै धेरै प्रतिबन्ध लगाइएको थियो । यस्ता प्रतिबन्धले व्यवसायमा प्रत्यक्ष असर परेको र त्यहाँ व्यवसाय सञ्चालन गर्ने प्रवासीले देश छाडेको विशेषज्ञको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्