
एजेन्सी । अभिनेता आमिर खानकाे फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता भएको छ ।
दिल्लीका एक वकिलले फिल्मलाई लिएर आमिर खान, प्यारामाउन्ट पिक्चर्स (एक अमेरिकी फिल्म निर्माता कम्पनी) र फिल्मका निर्देशक अद्वैत चन्दनविरुद्ध दिल्ली प्रहरीमा उजुरी दिएका हुन् । वकिलले आमिरले आफ्नो फिल्म लाल सिंह चड्ढाबाट भारतीय सेनाको अपमान र हिन्दु समाजको भावनामा चोट पुर्याएको आरोप लगाएका छन् ।
वकिल बिनित जिन्दलले दिल्ली प्रहरीलाई दिएको उजुरीमा फिल्ममा आपत्तिजनक दृश्य रहेको बताएका छन् । वकिल बिनितले आमिर खान, प्यारामाउन्ट पिक्चर्स र फिल्म निर्देशक अद्वैत चन्दनविरुद्ध आईपीसीको धारा १५३, १५३ए, २९८ र ५०५ अन्तर्गत उजुरी दर्ता गर्न माग गरेका छन् ।
फिल्ममा मानसिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई सेनामा भर्ती गराइयो र कारगिल युद्ध लड्ने अनुमति पनि दिइएको देखाइएको छ। आफ्नो उजुरीमा वकिल बिनितले सेनामा उत्कृष्ट सिपाही छनोट गरेर मात्र युद्धमा लड्न पठाइन्छ भन्ने सबैलाई थाहा भएको बताए । यस फिल्ममा निर्माताले भारतीय सेनालाई बदनाम गर्न यो दृश्य देखाएको उनले आरोप लगाएका छन् ।
वकिल बिनितले आफ्नो उजुरीमा भनेका छन्, ‘भारतीय संविधानले प्रत्येक नागरिकलाई बोल्न र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । तर, यसको दुरुपयोग गर्नु गलत हो । यस फिल्मले देशको इज्जत र सद्भावमा आँच पुर्याउँछ र धर्मको आधारमा नागरिकलाई उक्साउँछ । यसलाई गम्भीर अपराध मानिन्छ ।’
प्रतिक्रिया दिनुहोस्