
एजेन्सी । अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।
पहिलो दिनको तुलनामा दोस्रो दिन फिल्मको व्यापार ३० प्रतिशतले घटेको छ । अहिले बक्स अफिसमा फिल्मको खराब प्रदर्शनकाबीच अक्षयको एउटा पुरानो भनाइ भाइरल भइरहेको छ, जसमा उनले ‘आफ्नो फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जाने’ बताएका थिए । । अक्षयको यसअघि लगातार ४ वटा फिल्म फ्लप भएका छन् ।
अक्षयलाई ‘क्यानेडियन कुमार’ भन्दै धेरैले ट्रोल पनि गरेका छन् । अक्षयले हालै एक अन्तर्वार्तामा आफूसँग क्यानडाको नागरिकता रहेको बताएका थिए । सन् २०१९ मा क्यानेडियन नागरिकताका लागि आवेदन दिएपछि र लोकसभा चुनावमा भोटिङ छोडेपछि अक्षयको आलोचना पनि भएको थियो । साथै उनले आफ्नो फिल्म नचल्दा आफू पनि क्यानडा जाने सोचमा रहेको बताउँदै आएका थिए ।
अक्षयले आफ्नो नागरिकताबारे खुलासा गरेको यो पहिलो पटक भने होइन । यसअघि ‘कफी विथ करण’ शोमा पनि क्यानडाको नागरिकता रहेको बताएका थिए । उनलाई ‘क्यानेडियन कुमार’ भन्दा पनि कुनै आपत्ति नभएको बताएका थिए ।
यसअघि अक्षयले एक अन्तर्वार्तामा भनेका थिए, ‘केही वर्ष पहिले मेरो फिल्म राम्रो चलिरहेका थिएनन् । करिब १४-१५ फिल्मले राम्रो व्यापार गरेनन् । त्यसैले कतै गएर काम गर्नुपर्छ भन्ने सोचेको थिएँ ।’ उनले आफ्नो एक साथी क्यानडामा रहेको र त्यहाँ बस्न सुझाव दिए पछि अक्षयले आफूपनि पनि क्यानडा जाने सोचे ।
उनी भन्छन्, ‘भाग्यले मलाई यहाँ साथ दिइरहेको छैन भने मैले केही गर्नुपर्छ । म त्यहाँ गएँ, नागरिकताको लागि निवेदन दिएँ र मैले त्यहाँको नागरिकता पाएँ ।’ तर, भारतमा पुनः सफलता पाएपछि अक्षयले क्यानडा जाने मन परिवर्तन गरे । आफू भारतीय नै रहेको र भारतमा बसेर काम गर्ने पनि उनले बताएका थिए ।
७० करोडको बजेटमा बनेको ‘रक्षा बन्धन’ ले दोस्रो दिन ६ करोड ४ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ । फिल्मले पहिलो दिन ८ करोड २ लाख भारतीय रुपैयाँ कमाएको थियो । यसअनुसार फिल्मले भारतबाट २ दिनमा बक्स अफिसमा १४ करोड ६ लाख भारतीय रुपैयाँ मात्रै कलेक्सन गर्न सकेको छ ।
आनन्द एल राय निर्देशित यस फिल्ममा अक्षयका अलावा भूमि पेडनेकर, सादिया खातिब, सहजमिन कौर, दीपिका खन्ना र स्मृति श्रीकान्त पनि मुख्य भूमिकामा छन् । फिल्म दाजु बहिनीको सम्बन्धमा आधारित छ ।
प्रतिक्रिया दिनुहोस्