
काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा लगाएको अवरोधको आन्दोलन फिर्ता लिएका छन् ।
शहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेसँगै उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।
यसअघि दुबै ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए ।
मन्त्रालयको निर्णय अनुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिने छ । प्रभावित क्षेत्रका गाउँ–गाउँमा गन्धनिरोधक औषधि र स्वास्थ्यका सन्दर्भमा दैनिक कर्तव्यनिष्ठ हुन मेयर बालेन्द्र साहलाई समितिले ध्यानाकर्षण गराएको छ ।
स्यानिटरी ल्याण्डफिल साइटका सहायक ईन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज सोमबार बिहानैदेखि फोहोर उठ्न सुरु भएको छ । आइतबार दिउँसो बाख्रालाई ठक्कर दिएको भन्दै र तिनपिप्ले सडकखण्डमा फोहोर बोकेका ट्रकहरूले बाटोमै फोहोर फालेको निहुँमा अवरोध गरेका थिए ।
आइतबार साँझ धुनिवेशी–१ का नेपाली कांग्रेस सभापति पूर्ण सिंह तामाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष विष्णु तामाङ र नेकपा (एकीकृत समाजवादी)का भीषण धितालले नगर कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई पत्राचार गर्दै फोहोर मैला सधैँका लागि बन्द गर्न माग गरेका थिए ।
पटक–पटक गरी अहिलेसम्म १ सय ७४ वटा सम्झौता भएको तर कार्यान्वयन नगरिएको भन्दै स्थानीय तहले पनि नागरिकसँगै आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्