
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पारित गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पारित गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतबार मात्रै बसेको प्रतिनिधिसभाको बैठकमा समेत विधेयक पारित गर्नका लागि सांसदहरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।
सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पारित गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताउनुभयो ।
विधेयक पारित गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताउनुभयो ।
सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताउनुभयो । उहाँले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताउनुभयो ।
सापकोटाले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताउनुभयो । सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताउनुभयो ।
सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताउनु भयो । उहाँले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताउनुभयो । अहिले विश्वव्यापी रूपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताउनुभयो ।
उहाँले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताउनुभयो ।
सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको बताउनुभयो । उहाँले त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको बताउनुभयो ।
सभामुख सापकोटाले नेपालमा खोज, अनुसन्धान आवश्यक ध्यान नपुगेको बताउनुभयो । उहाँले तथ्यांकहरुको महत्व नबुझ्दा गत वर्ष मेलम्ची र मनाङका विपद्जन्य घटना न्यूनिकरण गर्न नसकेको बताउनुभयो ।
सभामुख सापकोटाले अहिले संसदमा तथ्याङ्क विधेयकहरू पास भइरहेको उन्दै तथ्यांकलाई समयमै बुझेर तथ्याङ्क संकलन गर्न आवश्यक रहेको बताउनुभयो । सरकारले बनाएका कानूनको सही कार्यान्वयन भए/नभएको मूल्याङ्कन हुनु जरुरी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्