१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकी प्रतिनिधिमण्डल ताइवान पुगेसँगै चीन थप रुष्ट, सैन्य अभ्यासको चेतावनी


3.016k
Shares

काठमाडौं । अमेरिकी प्रतिनिधिमण्डलले ताइवानका राष्ट्रपतिसँग भेट गरेपछि चीन थप रुष्ट बनेको छ ।

चीनले ताइवानमा थप सैन्य अभ्यास गर्ने चेतावनी दिएको छ । ताइवानका राष्ट्रपति साइ इङवेनले चीनको धम्कीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको हो ।

पेलोसीको भ्रमणपछि चीनले ताइवानको खाडीमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । त्यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले ताइवान भ्रमणमा गएको हो ।

प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति श्रृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका विषयमा छलफल गर्ने बताइएको छ ।

यसैबीच, चिनियाँ वायु सेनाका लडाकु विमानहरू सोमबार फेरि ताइवानी आकाशमा प्रवेश गरेका छन् । अमेरिकी सांसदहरूको टोली ताइवान पुगेलगत्तै चिनियाँ लडाकु विमानले ताइवानको आकाशमा उडान गरेका हुन् ।