
काठमाडौं । यस वर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रूपमा सकिएको छ ।
नेपालमा हिमाल पारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ । चौबिस जिल्लामा शतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ । यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा १० जिल्ला छन् । कर्णालीका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सतप्रतिशत रोपाइँ भएको छ ।
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । त्यहाँ यस वर्ष ८४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्न सकिन्छ ।
संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने जुम्ला जिल्लाको छुमचौर हो । सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपार जोन घोषणा गरेको छ ।
यसवर्ष प्रदेश–१ को सोलुखुम्बु, ओखलढुङ्गा, बागमती प्रदेशको धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, वाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा शतप्रतिशत रोपाइँ भएको छ ।
गतवर्षको यसै अवधिमा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्