
काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने गरी बुधबार स्थानीय प्रशासन र जनप्रतिनिधिबीच भएको सहमतिलाई ल्याण्डफिल साइटको संघर्ष समितिले अस्वीकार गरेको छ ।
सहमति अस्वीकार गर्दै संघर्ष समितिले फोहोर लिएर गएका गाडीहरुलाई फोहोर फाल्नबाट रोकेका छन् । आज बिहान फोहोर लिएर गएका गाडीहरु बीच बाटोमै रोकिएका छन् ।
बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच ककनीमा भएको बैठकमा चार बुँदे सहमति भएको थियो ।
पाँच घण्टा चलेको बैठकमा भएको सहमतिको पहिलो बुँदा अनुसार फोहोर बोक्ने गाडीले बाटोमा लिचड चुहाउँदै हिँड्न पाउने छैनन भने महानगरपालिकाले सात दिनभित्र लिचड नचुहिने व्यवस्था गरेपछि मात्र काठमाडौं महानगरपालिकाले फोहोर पठाउन पाउने छ ।
त्यस्तै, सहमतिको दोस्रो बुँदामा सडकमा धूलो नियन्त्रण निम्ति नियमित पानी छर्किने र त्यसका लागि पानी ट्यांकरको व्यवस्था गरिने छ । ल्याण्डफिल साइटमा दुर्गन्ध फैलिन नदिन नियमित औषधि छर्किने पनि सहमति भएको छ । यी दुवै कामको जिम्मा पनि काठमाडौं महानगरपालिकालाई दिइएको छ ।
सहमतिको तेस्रो बुँदा अनुसार काठमाडौं महानगरपालिकाले प्रत्येक तीन दिनमा फोहोर थुपारेको ठाउँलाई माथिबाट माटोले छोप्नु पर्नेछ । यसबाहेक स्थानीय बासिन्दासँग गरिएका पुराना सम्झौता कार्यान्वयनका लागि पहल गर्ने सहमति पनि भएको छ ।
वार्तामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा केही स्थानीयहरू सहभागी थिए ।
बञ्चरेडाँडा संघर्ष समितिका प्रतिनिधिहरूलाई भने वार्तामा सामेल गराइएको थिएन ।
प्रतिक्रिया दिनुहोस्