
काठमाडौं । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड हुन्छ । साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रुपमा मनाउने गरिन्छ ।
आज देशभर भगवान श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आजका दिन जागरम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् । आजका दिन देश भरका भगवान विष्णुका मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
आजको दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको कृष्णलीला, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको शास्त्रमा उल्लेख छ ।























प्रतिक्रिया दिनुहोस्