१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मकवानपुरका २ वटा उद्योगमा सिलबन्दी

९ लाख बढी मूल्य बराबरको २६० बोरा दाना बिक्री वितरणमा राेक

559
Shares

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई वटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ ।

मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमन टोली खटिएको थियो । सोही टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्राली उद्योगमा सिलबन्दी गरेको हो ।

अनामिका उद्योगले २०७६ सालदेखि खाद्य पदार्थको अनुज्ञापत्र नलिएर गैरकानूनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालन गरिरहेको पाइएको अनुगमन टोलीले जनाएकाे छ । भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेका पाइएको हाे । दुवै उद्योगविरुद्ध कानूनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने प्रशासनले जनाएको छ ।

त्यस्तै, भ्याली फिडको १३ हजार केजीको ९ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको २ सय ६० बोरा दाना बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ । साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि सहायक प्रमुख जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन समेत दिएको छ ।