
काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्ले तालिबानी अधिकारीहरुमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने विषयमा सहमति जुटाउन असफल भएको छ । सुरक्षा परिषद्को बैठकमा अफगान तालिबान अधिकारीहरुलाई विदेश यात्रा छुट विस्तार गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुटाउन नसकेको हो ।
योसँगै १३ अफगान तालिबान अधिकारीहरूलाई विदेश यात्रा गर्न दिने संयुक्त राष्ट्रसंघले दिएको छुटको म्याद शुक्रबार सकिएको छ । चीन र रुसले विस्तारको लागि आह्वान गरेका छन् भने अमेरिका र पश्चिमा राष्ट्रहरूले तालिबानले महिला अधिकार र वाचा गरे अनुसार समावेशी सरकार गठन गर्न असफल भएको भन्दै यात्रा अनुमति दिन नहुनेमा जोड दिएका छन् ।
अमेरिकाले आफ्नो प्रस्तावलाई परिमार्जन गर्दै सात तालिबान अधिकारीहरूलाई यात्रामा प्रतिबन्ध लगाउने र अन्य छ जनालाई ९० दिनसम्म कुनै भौगोलिक सीमा बिना यात्रा छुट दिने बताएको छ । रुस र चीनले उक्त प्रस्तावमाथि विचार गरिरहेका छन् ।
सन् २०११ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव अन्तर्गत १ सय ३५ तालिबान अधिकारीहरूमाथि सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाइएको छ । यद्यपी तीमध्ये १३ जनालाई शान्तिवार्ताका लागि विदेशका अन्य देशका अधिकारीसँग भेट्न यात्रा प्रतिबन्धमा छुट दिइएको थियो ।
यता, अफगान राजदूत ओमर समदले अफगान जनतालाई मद्दत गर्न तालिबानसँग संलग्नता आवश्यक रहेको भन्दै यात्रा प्रतिबन्ध फुकुवा हुनेमा आफु विश्वस्त रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्