२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


मन्त्री कुँवरद्वारा प्रत्यक्षरूपमा श्रमिकको गुनासो सुन्ने


182
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ ।

श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो । उहाँले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको,मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुन्नुभएको छ ।

मन्त्री कुँवरले अब प्रत्येक आईतवार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताउनु भएको छ । मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने बताउनु भयो ।

उहाँले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिनुभयो । मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौं भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताउनु भयो ।

उहाँले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गर्नुभयो । मन्त्री कुँवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताउनु भयो ।

उहाँले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताउनु भयो । उहाँँले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताउनु भयो ।

मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेको बताउनु भयो । उहाँले त्यो जटिलता समाधान गर्नको लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताउनु भयो । मन्त्री कुँवरले श्रमिकहरुलाई बुझ्दै नबुझि विदेश नजान पनि आग्रह गर्नुभयो ।

त्यस्तै, मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताउनु भयो । उहाँले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताउनु भयो ।

उहाँले कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ पीडितहरुको असुल गरेको दावी गर्नुभयो ।