
काठमाडौं । नेपाल प्रहरीले कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलबाट फर्काएको छ ।
आज बिहान जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुवेत हुँदै दुबई जान लागेका ३९ महिलालाई प्रहरीले शंकास्पद कागजातका आधारमा रोकेको हो ।
कुवेतमा भिजिट भिसामा जान लागेको देखिए पनि उनीहरु रोकिएका हुन् । उनीहरुले बोकेको कागजातसँग उनीहरुको दावी मेल नखाएको भन्दै प्रस्थान कक्षकै गेट क्षेत्रमा रोकेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको हुनसक्ने प्रहरीको अनुमान छ । कुवेत हुँदै दुबई जाने कुरामा आशंका भएपछि प्रहरीले सोधपुछ गरेको थियो ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही प्रहरीले नै महिलाहरुलाई फर्काएको जानकारी दिनुभयो । हाल उनीहरुलाई माइती नेपालको सेल्टरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्