८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सूर्यविनायक मन्दिरमा गणेश जात्रा हुने


936
Shares

भक्तपुर । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् गणेश भगवानको जन्मोत्सवको उपलक्ष्यमा सूर्यविनायक गणेश मन्दिरमा यस वर्ष पनि गणेश जन्मोत्सव जात्रा मनाइने भएको छ ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबले जात्रालाई निरन्तरता दिँदै यस वर्ष पनि जात्रा गर्न लागेको हो ।

गणेश चतुर्थीका दिन परापूर्व कालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रा गत वर्षदेखि पुनः सुचारु गरिएको सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले जानकारी दिनुभयो ।

‘यो जात्रा परापूर्वदेखि चल्दै आएको जात्रा हो । तर, बीचमा रोकिएको थियो । गतवर्षदेखि पुनः सञ्चालनमा ल्याएर जीवन्त बनाएका छौं ।’ अध्यक्ष गिरीले भन्नुभयो, ‘अब यो जात्रालाई निरन्तर अगाडि बढाउँछौं ।’

सूर्यविनायक गणेशलाई खटमा राखी सिन्दुर छर्कंदै मन्दिर क्षेत्र परिक्रमा गराई मनाइने यो जात्रा दशकौं वर्षपछि स्थानीय जनप्रतिनिधि र युवाहरुको सक्रियतामा पुनः मनाउन सुरु भएको प्रबन्ध समितिको सदस्य बिष्णुप्रसाद राजथलाले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ६ को सिमानामा अवस्थित पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि यस वर्ष ती दुई वडाले ३/३ लाख बजेट विनियोजन गरेको छ । जात्रा सञ्चालनका लागि गत वर्ष ती दुवै वडाले २/२ लाख रुपैयाँ दिएको थियो । यस्तै, अन्य सहयोगी दाताहरूले पनि जात्रालाई विभिन्न साम्रगी तथा नगद सहयोग गरेका छन् ।

बजेट व्यवस्थापनसँगै परम्परादेखि चल्दै आएको जात्रालाई निरन्तरता दिन सहज भएको क्लवका सल्लाहकार राजेन्द्र मिश्रले बताउनुभयो । ‘जात्रा करिब करिब लोप हुने अवस्थामा पुगेको थियो, यसको संरक्षणका लागि विगत वर्षदेखि वडाबाट बजेट विनियोजन भएपछि जात्रालाई फेरि जीवन्त बनाएका छौं ।’

जात्रा अन्तर्गत स्थानीय ढल्चा भजन, दाफा खलः तथा गुठीयारहरुको सहभागितामा जात्रामा गणेश मूर्ति सहितको खट यात्रा गरिने छ । खट यात्रा मन्दिरबाट सुरु गरि तीनधारा, पिपलबोट हुँदै सुर्यबिनायक चोक जाने र पुनः मन्दिरमा फर्काएर गुन्चाडोल र हरियाली टोलसम्म परिक्रमा गराइने छ । त्यसपछि साँझ आरती गरिने कार्यक्रम रहेको जात्रा व्यवस्थापन समितिअन्तर्गतको प्रचारप्रसार समितिका सदस्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

सिन्दुर जात्रा, बाजागाजासहित गरिने सो जात्राबारे नयाँ पुस्तालाई जानकारी दिन र पर्यटकीय महत्व बोकेको सूर्यविनायकको प्रचारका लागि पनि जात्रा पुनः सञ्चालनमा ल्याएको प्रबन्ध समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

सूर्यविनायक गणेशलाई उपत्यकाको चार गणेशमध्ये जेठो गणेशको रुपमा पुजिँदै आएको छ ।