१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मोतिपुर औद्योगिक करिडोर : रोकिएको काम सुरू गर्न कार्यदल गठन


39
Shares

काठमाडौं । रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र परेपछि बुटवल उप–महानगरपालिकाको पहलमा यसको काम फेरि अघि बढ्ने भएको छ । यसका लागि उपमहानगरले सरोकारवाला निकाय राखेर छलफल गरेको छ ।

छलफल पछि समस्या समाधान गर्न कार्यदल समेत गठन गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँडसमेतको उपस्थितिमा सरोकारवाला निकायबीच छलफल गरी कार्यदल निर्माण गठन गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाई संयोजक रहेको कार्यदलमा सदस्यहरु बुटवल औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत, प्रदेश उद्योग मन्त्रालयका अधिकृत, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले रहनु भएको छ ।

कार्यदलले विस्तृत अध्ययन गरी ७ दिनभित्र प्रगति प्रतिवेदन तयार गर्ने गरी निर्णय भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले जानकारी गराउनुभयो ।

नेपाल सरकारले वि.सं. २०७३ साल बैशाख १४ गते मोतिपुर औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा उपलब्ध गराएको ८ सय १३ बिघा क्षेत्रफलको जग्गामा औद्योगिक करिडोर निर्माणको प्रक्रिया थालिए पनि स्थानीयसँगको विवादले यो परियोजना नै अलपत्र परेको हो ।