
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको बताउनुभएको छ ।
बिहिबार त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो बताउनुभएकाे हाे । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताउनुभयो ।
उहाँले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाको एकाधिकार हुन नहुने बताउनुभयो । पुनले सीमित घेरामा मात्रै नभएर सबैमा प्रतिष्पर्धी बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने बताउनुभयो । उहाँले राज्यले सकेसम्म एकाधिकार खालको पूँजीलाई नियन्त्रण कम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले पूँजीगत खर्च गर्न नसक्नु संरचनागत समस्या रहेको बताउनुभयो । उहाँले सरकारसँग १ लाख ३३ हजार निजामति कर्मचारीहरु भएपनि प्राविधिक कर्मचारी कम भएकाले समस्या रहेको बताउनुभयो । उहाँले नेपालको संरचनागत व्यवस्थालाई परिवर्तन गरेर पूँजीगत खर्च गर्न लायक संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारले विकास निर्माणको कार्य हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले सरकारले विकास निर्माणको काम सुरु गर्ने गरेकाे बताउनुभयाे । तर अदालतले रोक्दा समय लागेकाे उहाँले बताउनुभयाे । उहाँले समग्र नेपालको न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका र नागरिक समाज सबैलाई विकासमैत्री बनाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले दुई जना मन्त्री र प्रधानमन्त्री बसेर नभई आम जनतालाई समेत ठूला आयोजनाहरुले योजना बनाउनु अगाडि कार्यान्वयनको क्रममा कार्यान्वयपछि पनि जनताको सहभागिता बढाउनुपर्ने बताउनुभयो । उहाँले ३ खर्ब बराबरको लगानी कृषिजन्य उत्पादन देशभित्र नै गर्ने गरी पूँजी, प्रविधि दिएर आधारभूत खाद्यान्न र उत्पादनमा आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो ।
उपमहासचिव पुनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रपतिसँग बुधबार शीतल निवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरूले नागरिकता विधेयका विषयमा पार्टीको धारणा स्पष्ट राखेकाे बताउनुभयो । उहाँले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
उपमहासचिव पुनले नेपाली नागरिक शिक्षित भइसकेको र राष्ट्रिय स्वाधिनताको प्रश्नमा सचेत रहेकाले शासकहरूले विदेशी शक्तिको दबाब, प्रभाव र स्वार्थमा निर्णय गरे जनताले अस्वीकार गरिदिने बताउनुभयो । उहाँले जनताको सचेतनताकै कारण भारतीय नाकाबन्दी असफल भएको बताउनुभयो ।
उहाँले चीनलगायत अन्य मुलुकसँग पनि नेपालको व्यापार विविधिकरण भएको तथा विगतमा नेपालको श्रम बजार भारत मात्रै भएकामा अहिले विकल्पका रूपमा तेस्रो मुलुक रहेको बताउनुभयो । उहाँले भारतबाहेक विकल्प नै नहुँदा विगतमा ८० लाख नेपाली भारतमा रोगजारीमा जाने गरेपनि अहिले भारत बाहेक अन्य देशमा ५०-६० लाख मानिस जाने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्