
बैतडी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ ।
फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो ।
कञ्चनपुरले दिएको ६३ रनको लक्ष्य बैतडीले ११ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान वसन्त खत्रीले अविजित २४ रन बनाउँदा खडक बोहराले १४ रन बनाए ।
कञ्चनपुरका मिलन बोहराले २ विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस जित्दै पहिला ब्याटिङ गर्ने गरेको कञ्चनपुरले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ६२ रन जोड्यो ।
उसका कप्तान दिपेश चन्दले ३२ रन बनाउँदा राहुल चन्दले १५ रन जोडे । बैतडीका लागि गजेन्द्र बोहराले ४ र रामबहादुर चन्दले १ विकेट हात पारे ।
छनौट प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्