
काठमाडौं । बाढीको चपेटामा परेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
बाढीबाट १० लाख घरहरु ध्वस्त भएको र त्यसबाट ३ करोड ३० लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । तिनीहरुको पुनस्थापनाका लागि १६ करोड अमेरिकी डलर बराबरको सहयोग आवश्यक परेको पाकिस्ताननले जनाएकाे छ ।
संयुक्त राष्ट्र संघले पनि यसअघि नै पाकिस्तानलाई मानवीय सहयोग गर्न अपील गरिसकेको छ । बाढीबाट बलुचिस्तान, सिन्ध, गिलगिट र पञ्जाव प्रान्त सबै भन्दा बढी प्रभावित भएका छन् । खैबर पख्तुन्ख्वा बाढीका कारण तहसनहस भएको छ । बाढीमा परी १२ सय ६५ जनाको मृत्यु भइसकेको छ ।
बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको अनुमान पाकिस्तानी अधिकारीहरुले गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तत्काल राहत पुर्याउने क्रम पनि जारी राखेकाे छ । पछिल्ला ४ दिनमा टर्की, फ्रान्स, चीन, युएइ, कतारलगायतका देशबाट ३० वटा विमानले राहत सामाग्री पुर्याएका छन् ।
अमेरिकाले भने एउटा सैन्य टोली नै पठाउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्