
काठमाडौं । नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् ।
यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आईतबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले भलिबल संघको नेतृत्वमा लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले गत महिना नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेकी छन् ।
चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभिए) का कोषाध्यक्ष तथा पूर्व भलिबल खेलाडी पनि हुन् । काठमाडौंको येल्लो प्यागोडा होटलमा कार्यक्रम आयोजना गर्दै चन्दले अध्यक्षमा दाबेदारी दिँदा वर्तमान अध्यक्ष मनोरन्जन रमण शर्मा, उपाध्यक्ष यामबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।
यस्तै रोसन श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि नै हालका सचिव मनवीर छन्त्यालले पनि महासचिवमा उम्मेदवारी दिएका छन् । मास्के र चन्दले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि प्यानल सार्वजनिक गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्