
काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज बुधबारदेखि सुरू भएको छ ।
बुधबार बिहान ७ बजेर १७ मिनेटको शुभसाइतमा हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर ध्वजारोहण गरिएसँगै जात्राको शुभारम्भ भएको हो ।
हनुमानढोकामा रंगिविरंगी ध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरू हुने परम्परा छ ।
ध्वजारोहण कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि सहभागी हुनुहुन्थ्यो ।
आठ दिनसम्म मनाइने इन्द्रजात्रा भाद्र शुक्ल चतुदर्शी र पूर्णिमाको दिन रथयात्रा गर्ने गरिन्छ । जस अनुसार यो वर्ष भदौ २४ र २५ गते इन्द्रजात्राका मुख्य दिन हुन् ।
इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो ।
इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धि सबै देवीदेवतालाई सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा, आराधना गरी मनाउने चलन छ ।
१२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।









प्रतिक्रिया दिनुहोस्