
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भइरहेकोले कांग्रेसलाई १०० छाड्नुपर्ने बताउनुभएको छ ।
१६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो रहेको उल्लेख गर्दै कोइरालाले गठबन्धन गर्दा कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने बताउनुभयो । प्रेस युनियनले बिहिबार जनकपुरमा गरेको कार्यक्रममा कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताउनुभयो ।
कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो । उहाँले कांग्रेसमा चुनाव उठ्न धेरै नेता तथा कार्यकर्ता आकांक्षी रहेकोले व्यवस्थापनमा कठिनाई रहेको पनि बताउनुभयो । सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्ने पनि कोइरालाले बताउनुभयो ।
सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने केन्द्रीय समितिबाटै निर्णय गरेको र गठबन्धन बहुमत ल्याउनका लागि गर्ने भनिएकोले कम्तीमा १०० सिट लिनुपर्ने कोइराला बताउनुहुन्छ ।
विचार र सिद्धान्त नमिल्ने माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएकोले परिणामबारे अहिले नै भन्न नसक्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्