
काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले विदेशी चलचित्रका कारण शो पाउन नसकेका भन्दै दुखेसो पोखेका छन् ।
रिलिजअघि नै अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्रले हलमा स्थान पाउन सकेको छैन् । शुक्रबारबाट चलचित्र रिलिज हुने भएपनि अहिलेसम्म मल्टिप्लेक्सहरूले शो टाइम नदिएको निर्देशक बिडारीले सामाजिक सञ्जाल फेसबुक मार्फत दुखेसो पोखेका छन् ।
निर्देशक बिडारीले चलचित्रप्रति सबैले दिएको माया, हौसला र सद्भावप्रति आभार प्रकट गरेका छन् । ‘यो हद सम्मको माया पाउँछौं भनेर त हामी आफैले पनि सोचेको थिएनौं । तर यी भावनात्मक कुरा गरेर सिनेमा चल्दैन । सिनेमा चल्नको लागि हलमा दर्शक पुग्नुपर्छ।’ उनले भनेका छन् । चलचित्र दर्शकसम्म पुग्न भने कठिनाइ भइरहेको उनले बताए ।
उनका अनुसार एउटा हिन्दी चलचित्रका कारण ‘ऐना झ्यालको पुतली’ ले शो टाइम पाउन नसकेको हो । आफ्ना साथिभाइहरूले कुन समयमा कुन हलमा जाउँ भनेर सोधिरहदाँ आफुसँग कुनै जवाफ नभएको भन्दै उनले दुखेसो पोखेका छन् ।
निर्देशक बिडारीका अनुसार यस चलचित्रको हालसम्म एउटा शो मात्रै तय भएको छ । चाबहिलको एफक्यूवमा शुक्रबार दिउँसो १२ः१५ को शो रहेको छ ।
चलचित्र ‘ऐना झ्यालको पुतली’को कथा निर्देशक बिडारीले नै लेखेका हुन् । उच्च शिक्षाको अभिलाषा पालेकी एक किशोरीको कथा चलचित्रमा रहेको छ । चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक शिवाकोटी लगायतको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्