
-संजिव कार्की
ज्वाइँ ससुराली गएर बसेपछि उसका कर्तव्य र काम हुँदैन भनिन्छ परम्परागत भाषामा । घर ज्वाइँ बस्नु भनेको कर्तव्यरहित भएर बस्नु हो । कर्तव्य नभएपछि उसको अभिस्ट हुन्छ, खाइरहनु ,बसिरहनु । खाने अभिलाषा मात्रै पाल्नु । तसर्थ घर ज्वाइँलाई संधैको भोक जागिरहन्छ । ससुरालीलाई अनेकन काम कर्तव्य र अल्झनको पिडा हुन्छ । अप्ठ्यारो हुन्छ । तर यी सबकुराको वेवास्ता गर्दै घर ज्वाइँ हरपल खाने चिन्तामा हुन्छ त्यसैले पनि यो आहान बनेको हो अरुको कयौं धन्दा केवल घर ज्वाइँको खानको लागि मात्र धन्दा ।
अहिले हाम्रो देश पनि विश्वका १८८ देशमा जस्तै फैलिएको कोरोनाको महाब्याधिमा पिल्सिएको छ । मान्छेहरु जीवन मरणको दोसाँधमा छन । रोग भोक शोक र असंख्य अप्ठ्यारोले देश घाइते छ । आर्थिक सामाजिक, भौतिक कारणले मनोवैज्ञानिक समस्याले, सुत्केरी हुन नसकेर, समयमा औषधि पानी नपाएर मान्छेहरु मरिरहेछन । तर सरकारमा बस्नेहरु यी सबको मतलव र परवाह नगरी खाने ,पिउने मोजमस्तीमा बस्ने, कमिसन खोज्ने, सान र सौख पुरा गर्ने विलासी जीवनमा मस्त र व्यस्त छन् । जनता अस्तव्यस्त छन् तर सत्ताका हिमायतीहरु खान, लुट्न र भ्रस्टाचार गर्न ज्यान फालेर लागेका छन । बिनाकाम लाज नमानेर ससुरली बस्ने ज्वाइँको झैं हालत छ सरकारको । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने झैं सरकाररुपी संयन्त्र आफ्नो मात्रै भलो सोच्न कन्दनी कसेर लागेको छ ।
प्राथमिकता दिनुपर्ने कैयन जनताका दुःख पीडा र अप्ठ्यारो छोडेर विलासिता र अनावश्यक खर्च अनि त्यसबाट पाउने कमिसनमा सरकारी मान्छेहरु ज्यान छोडेर लागेको देख्दा जनतामा चरम निराशा, घृणा र विद्रोहको भाव जागृत भैरहेको छ । जनताको कहरमा सरकार हुनुपर्ने जनताको घाउमा नुनचुक छर्न लागे झैँ देखिएको छ । सरकारका मन्त्रीहरुको, मन्त्रालयको परस्परमा समन्वय छैन, काम गर्ने तौर तरिकामा लय छैन । बेढंगी चर्तिकला र बेतालको नग्न नृत्य प्रदर्शन भएको छ । कलाविहीन नौटंकी देखाएर सरकार जनताको लागि काम गरेको ढ्वांग फुक्छ । वस्त्र विहीन भएर सरकार सुराल खुस्केपनि कट्टु अझै बाँकी छ भनेर लाज अझै बाँकी छ भन्छ । कोरोनाको आतंक र यसको फैलावट कति छ भनिसाध्य छैन टेस्ट जति गर्यो उति बढी संक्रमण फैलिएको पाइन्छ । टेस्ट गर्ने किट र सरकारी तदारुकताको अभावमा मृत्युपछि कोरोना पुष्टी हुने शृंखला चलेको छ । मृत्युपछि कोरोना पुष्टी भयो भन्दै हिड्नु परेको अवस्था छ भने उपचार र सरकारी हेरचाह हेर्न क्वारेन्टाइन हेर्दा पुग्छ ।
विश्व नै हाहाकार र हायलकायल भएको बेला हाम्रा सरकार सम्बद्ध अधिकारीहरुलाई घुस, कमिसन र कमाउनेतर्फ नै विशेष ध्यान र आकर्षण छ । रोग ब्याधिको यो निर्मम अवस्थामा पनि औषधि किन्ने पैसामा कमिसन र भ्रष्टचार गर्नु परेको छ । मानौं कात्रोमा खल्ती हुन्छ र मरेपछि पनि पैसा लिएर जान पाइन्छ भने झैं हतारो र दौडधुप छ पैसाको लागि । विलासिता र सौख पुरा गर्न राष्ट्रपतिलाई नयाँ कार्पेट र मन्त्रालयमा जिमखानादेखि ओम्निलाई लाइसेन्स बिना नै कोरोना किट किन्ने अनुमति अहिल्यै दिनु परेको छ । सरम लाग्ने ठाउँको वस्त्र खोलेर नाक ढाके झैंको ब्यबहार गर्दैछ सरकार । राष्ट्रपति भवनमा शौचालय सजावटको लागि भर्खरै कोरोना आक्रमणपछि टेन्डर गरेर कन्ट्रयाक्टर नोमिनेट समेत भएको र शौचालय सजावटको रकम एक करोड सन्ताउन्न लाख भन्दा बढि रकमको बजेट सुन्दा जनताको आक्रोश र औषधोपचार गर्न नपाउँदाको छटपटी भनि साध्य छैन ।
क्वारेन्टाइनको बेहाल छ । औषधि किन्ने र खाने वातावरण छैन । अस्पतालमामा आइसोलेसन र भेन्टिलेटरको चरम अभाव छ । तर यस्तो बेला राज्यको खर्च विलासिताको कार्पेट किन्न र राष्ट्रपतिको बगैंचा सजावटदेखि शौचालय सजावटसम्मको लागि बजेट खर्च गरिदैछ । संकटको बेला अनावश्यक खर्च नगर्ने सरकारी घोषणा र नीति बिपरित जथाभावी खर्च गरिएको देख्दा लाग्छ सरकार जे सक्छ तुरुन्तै गरिसक्ने बाध्यतामा छ । भोलि उसलाई मौका छैन या फुर्सद मिल्दैन । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म शौचालय, बगैचा, जिमखानादेखि गलैचा सबै अनावश्यक कुरा नहोलान तर यो बेला ती विलासिताका कुरा कटौती गरेर गम्भीर र जिम्मेवारी बन्नुपर्ने हो ।
यो बेला विलासितामा खर्च गर्नु भनेको संवेदनाशुन्य र संवेदनहीन बन्नु हो । संसद विकास कोष जस्तो संघीयताको मर्म र सिद्दान्त विपरितको कोष जीवन्त राखेर कोरोना उपचार कोषमा रकम अभाव कुन जनवाद र मानवीयताको अभ्यास हो । बजेट भाषणमा विद्युतीय सवारीमा कर बेद्धि हुँदैछ भनेर सूचना चुहाएर गाडी रातारात बजेट भाषणको अघिल्लोदिन भित्र्याउन सहयोग गरेर राज्यलाई दिनमा पचास करोड भन्दा बढी राजस्व गुमाउन बाध्य पार्ने को हो ? जनताको उपचार र स्वास्थ्य क्षेत्रको सुधारमा लाग्नुपर्ने सरकार किन पार्टी फुटाउने अध्यादेश ल्याएर आफ्नो मूल जिम्मेवारीबाट भागेर आन्तरिक पार्टी कलहमा रुमलिन पुग्यो ? यहाँ नैतिकता र संवेदनाको प्रश्न उठ्दैन र ? जनताले यसको हिसाब किताब आफ्नो समय आएपछि नगर्लान र ? संवेदना गुमाएको राज्यले कृषकको पचासौं लाखको कृषि उपज आफ्नो स्वार्थ र भारतीय समान बेच्न कोरोना लागेको भनेर खाल्डोमा पुर्दा आत्मनिर्भरताको फेरी लगाउने राष्ट्रवाद मरेतुल्य भएन र ? भारतबाट ल्याउँदा तरकारी जोखिम नहुने तर अन्य आफ्नै देशको भू भागबाट तरकारी लैजादा पोखरामा कोरोना सर्ने कस्तो बिडम्बनापूर्ण मापदण्ड ?
कोरोना संक्रमण तरकारीमा छ भन्ने ग्यारेन्टी नभइ अन्दाज र स्वार्थको कारण यसो गर्दा राज्यको कृषि मन्त्रालय सम्हालेर बसेका कमरेड घनश्याम भुषालको ह्रदय दुखेन ? करिब तीन महिनादेखि घरभित्र थुनेर जेष्ठ ३२ गते सम्मको लकडाउन कायम राख्दै जेष्ठ २५ गते भित्र कर तिर्न उर्दी र नतिरे जरिवानाको धमास के सभ्य राज्यको काम हुन सक्छ ? न व्यापार, न ब्यबसाय, न जागिर न, उद्योग धन्दा जनताले कर कसरी तिर्न सक्छन ? किन यति क्रूरता देखाउँदै छ राज्य ? पेट्रोलियम पदार्थमा कर बढाएपछि मुल्य वृद्दिको भार जनताको टाउकोमा परेर दोहोर मार खप्नुपर्ने कुरा विद्धान अर्थमन्त्रीको नजरबाट छिप्ने विषय होइन । तर किन यस्तो गरिदै छ । राहात् दिनुपर्नेमा आहात दिन किन फराकिलो मन गर्दैछ राज्य ? मल बिउ बिजनमा कर लगाएर चकलेटमा कर छूटको नीतिले कसको पृष्ठ पोषण गर्छ ? जनताको रगत पसिना र आँशु निचोरेर कर असुल्न यति हतारो गर्नुको उदेश्य र आसय के हो ?
जनताको पीडामा मलम लगाउने कि नुनचुक छर्केर आत्महत्या गर्न दुरुत्साहन गर्ने ? दुखको बेला राज्य छैन भने राज्य जनताको लागि किन चाहियो र ? जनताको थाप्लोमा करको भारी बोकाएर मात्रै राज्यहुनुको धर्म र कर्तव्य पुरा हुन्छ र ? जनताको कलेजो फोक्सो मुटु बेचेर कर तिर्ने कि अरु उपाय र तरिका छन् जनतालाई सरकारले भन्नुपर्छ, बाटो देखाउनु पर्छ । अन्यथा जनताको आक्रोशको निशाना सरकार बन्ने निश्चित छ । जनताको दुखले नदुख्ने राज्य, जनताको पीडाले नछुने नेताहरुको मुटु अनि जनताको आँशु नदेख्ने राज्यको आँखा भएपछि राज्यप्रतिको जनताको दायित्त्व र कर्तव्य पनि सकिएकै मान्न सकिन्छ । दुःख नै खेप्न परेपछि राज्यले दिने जेलको चिसो जनताले सहजै स्वीकार गर्ने दिन न आउला भन्न सकिन्न ? कोही भोकै बस्नु पर्दैन, भोकले कोहि मर्दैन भन्ने नारा र सरकारी उदघोष शायद उलंघन गरेर भोकले राजधानी शहरमा सुर्यबहादुर तामाङ अनि सप्तरीका मलर सदाले मृत्युवरण गरेर सरकारको खिल्ली उडाए । गरिबीको हरि तन्नम ढिकीमा नागरिकलाई चामल फले झैं फलेर भोकमरी र कोरोनासंग पौठेजोरी खेली रहेका नागरिकलाई मार्दै बस्नुमा सरकार कुन युद्द जित्दैछ ? खै नागरिक सरकार ? स्मरणीय छ सरकार नागरिक करमा चल्ने नागरिकको अविछिन्न उत्तराधिकारी अभिभावक हो ।
प्रतिक्रिया दिनुहोस्