३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


महानगरले सेना र प्रहरीललाई पनि दियो कर तिर्न अल्टिमेटम


1.131k
Shares

काठमाडौं । विभिन्न संघ संस्था र निकायलाई कर तिर्न ताकेता गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखेर पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गर्नुभएको छ ।

तोकिएको अवधिमा कर नबुझाए राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख छ । महानगरले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाजकल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई बहालकर तिर्न पत्राचार गरेको हो ।