१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसलाई रुपान्तरण गर्न आवश्यक : महामन्त्री शर्मा


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार वीपी कोइरालाको १०९ औं जन्मजयन्तीलाई सम्बोधन गर्दै उहाँले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले नेपाली कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली कांग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताउनुभयो ।

महामन्त्री शर्माले नेपाली कांग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली कांग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा स्थापित गर्न अग्रसर हुने बताउनुभयो । महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रम बाहेक अरु नभएको जिकिर गर्नुभयो ।

उहाँले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थ व्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुशी ल्याउन सकिन्छ भन्ने कुरामा कांग्रेस अघि बढ्ने बताउनुभयो । महामन्त्री शर्माले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूवएक काम गर्नुपर्ने बेला भएको पनि बताउनुभयो ।