१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले गहुँ पछि चामल निर्यातमा पनि प्रतिबन्ध लगायो


22.893k
Shares

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ ।

भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो । बुधबारेदेखि लागू हुने गरी भारत सरकारले गरेको सो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ । भारतले धान चामलामा कर वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो ।

२९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ । कनिका निर्यात प्रतिवन्ध लगाउने निर्णयले नेपालका वियर उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।

वियर उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिवन्ध लगाउने भएपछि त्यसको असर नेपालमा देखिने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताउनुभयो । आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ । भारतले गहुँ निकासीमा यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।