
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आईतबारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रश्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रन बनायो । प्रदेश १ का दीपेश कडेलले सर्वाधिक ३४ रन बनाउँदा फिर्दाेस अन्सारीले ३३, सोनु मण्डलले २६ र सन्दीप ढुङ्गानाले १३ रनको पारी खेले । सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरा २० ओभरमा सात विकेट गुमाएर १ सय ४४ रन जोड्नसक्यो । सुदूरपश्चिमका वसन्त खत्रीले सर्वाधिक ५३ रन बनाए । वसन्तले ४० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यस्तै मिलन बोहराले ४४ र लोकेन्द्र चन्दले २४ रनको व्यक्तिगत पारी खेले ।
सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो । वागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो । सुदूरपश्चिले अब भदौ २८ मा मुलपानीमा विभागीय टोली एपिएफसँग खेल्नेछ । प्रदेश १ ले पहिलो खेल वागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो । प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो । प्रदेश १ ले सोमवार एनआरएनसँग खेल्नेछ ।
कीर्तिपुर मैदानमा आईतवारको दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले कर्णाली प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले १०.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल ४० बलमा ५ चौका र १ छक्का सहित ३९ रन र पवन सरार्फ १ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोडेको थियो । कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाही र अर्का ओपनर विपिन रावलले क्रमश २७ र १७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशीले समान ३÷३ विकेट निकाल्दा सागर ढकाल र मञ्जित श्रेष्ठको नाममा समान २/२ विकेट रह्यो ।
पुलिसले सोमबार त्रिवि मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ । कर्णालीले मंगलबार मधेस प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा नै खेल्नेछ । यसअघि पुलिसले वर्षाको कारण मधेस प्रदेशसँग वर्षाको कारण अंक बाँडेको थियो । कर्णालीले वर्षाको कारण लुम्बिनी र त्रिभूवन आर्मी क्लवसँग अंक बाँडेको थियो ।
प्रतियोगिता अन्तर्गत आईतबार मुलपानीमा तय भएको एनआरएनए स्पोर्टस एकेडेमी र वागमती प्रदेश तथा गण्डाकी र लुम्बिनी प्रदेशबीचका दुवै खेल रद्ध भएका छन् । मुलपानी क्रिकेट मैदान ओसिलो भएकाले खेल रद्द भएको हो ।
प्रतिक्रिया दिनुहोस्