
काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ ।
नाडा अटोमोबाइल एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गरी ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजनाबारे जानकारी गराएको हो । नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारीसमेत लिन सकिने नाडाले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नाडा इभी एक्स्पोका सभापति अनुपकुमार बरालले एक्स्पोमा ५१ वटा स्टल रहने बताउनु भयो । उहाँले एक्स्पोमा इभीका ७ ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शनीमा राखिने बताउनु भयो । उहाँले सावारी साधनबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि राखिने बताउनु भयो । बरालले एक्स्पोमा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदर लगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी गराइने पनि बताउनु भयो ।
पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको प्रदर्शनी हुन लागेको बताउनु भयो । उहाँले नाडा इभी आटो एक्स्पोमा प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ खुला गरिएको बताउनु भयो । अध्यक्ष थापाले अहिलेको आवश्यकताले इभी गाडीको एक्स्पो गर्नुपर्ने भएकाले नाडा त्यही अनुसार अगाडि बढेको बताउनु भयो । उहाँले नाडाले नाडा अटो सो गर्ने सबै प्रक्रिया पूरा गरेपनि सरकारले सवारी साधन आयात खुला नगरेको कारण अन्तिम समयमा रोकिएको बताउनु भयो ।
उहाँले अहिले नेपालको अटो उद्योग नै धरासायी र कठिन मोडमा पुग्ने अवस्थामा पुगेको बताउनु भयो । अध्यक्ष थापाले धरासायी बन्न लागेको अटो मोवाईल क्षेत्रलाई चलायमान बनाउनको लागि इभी एक्स्पो गर्न लागेको बताउनु भयो । उहाँले अहिले नेपालमा विद्युतीय सवारी साधनको अत्याधिक माग रहेको बताउनु भयो । उहाँले अटो व्यवसायीहरुले माग अनुसार विद्युतीय सवारी साधन दिन नसकेको बताउनु भयो ।
उहाँले अहिले सवारी साधनको आयातमा १० प्रतिशत विद्युतीय सवारी साधनले ओगटेको बताउनु भयो । अध्यक्ष थापाले अबको पाँच वर्षपछि नेपालमा ५० प्रतिशत विद्युतीय सवारी साधनको बजार हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्