
काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।
सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले सो निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औंपचारिक जानकारी गराएका हुन । सहमति अनुसार नेकपा (संयुक्त)ले पनि जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेछ ।
अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) संग पनि सो सहमती गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पार्नु भयो । उहाँले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्वीकार गरेर जाने बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरुले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताउनु भयो । उहाँले निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरुबीच सहमती रहेको बताउनु भयो ।
दुवै पार्टीको सहमतीमा मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली तय गर्ने पनि सहमती पत्रका उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्