
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।
आज बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भयो । उहाँले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
एमालेका अर्का सांसद भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले औषधि सिटामोल समेत प्राप्त नगरेको कुरा आएको छ । यो देशव्यापी भइसकेको छ ।’
सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाउनु भयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले बाढि र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
सांसद शर्माले भन्नुभयो, ‘यो देशमा कोरोनासँगै डेंगु रोग भयावहस्थिति सृजना भएको छ । र, औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आईरहेको छ । यो व्यापक रुपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनु पर्दछ ।’
प्रतिक्रिया दिनुहोस्